Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

खुकैला आगलागी पीडितका लागि कवि, कलाकारहरूको सहयोग हस्तान्तरण

Admin

समसामयिक

हतुवागढी, १८ बैशाख। गत चैत्र १२ गते हतुवागढी–८ को खुकैलामा आगलागीमा परेका पीडित परिवारलाई पात्लेपानी कला/साहित्य प्रतिष्ठानको आह्वानमा संकलित रकम पीडित परिवारलाई गत बैशाख १५ गते बुधवार हस्तान्तरण गरिएको छ ।

पात्लेपानी कला-साहित्य प्रतिष्ठान, पात्लेपानीको आह्वानमा देश तथा विदेशमा रहेका कवि, कलाकार तथा पत्रकारहरु मार्फत संकलन गरिएको रकम १ लाख ६७ हजार ६ सय ९० रुपैयाँ घट्नास्थलमै पुगि हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । प्रतिष्ठानको अभियानमा हसनपुर निवासी हाल दुवईमा कार्यरत पत्रकार तथा गीतकार शम्भु बाछना राईको अगुवाइमा रु. ९२ हजार ९ सय ६५ रुपैयाँ , हतुवागढी होमताङ निवासी , हाल जापानमा कार्यरत साहित्यकार म्यामराज राई मेमोरीको अगुवाइमा २५ हजार रुपैयाँ , स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ को अगुवाइमा १७ हजार १ सय ५ रुपैयाँ , हतुवागढी रानीबास निवासी, हाल द. कोरियामा कार्यरत दिलिप बान्तावाको अगुवाईमा १५ हजार रुपैयाँ , हसनपुर सुनसरी सम्पर्क मन्च तथा टंक जुबु राईको अगुवाईमा ५ हजार २५ रुपैयाँ , जेफाले साहित्य समाज धनकुटा तथा गजलकार हृदय लिम्बुको अगुवाइमा ४ हजार रुपैयाँ तथा हतुवागढी सिन्द्राङ्की कवि अल्पभाषी निरुय धनकुटाका कवि मुकुन्द प्रयास, धरानकी गजलकार तारा दिप्साली राई, धरानकै स्थानिय पार्वती राई एवं अरुण गाउँपालिका जरायोटारका कवि तथा चित्रकार ओम डिसिआर लगायतले पीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको थियो।

सो रकम हस्तान्तरण पश्चात् बोल्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढीका निम्ति सबैको आस्था जस्तै रहेको बताउँदै स्थापनाकालदेखी नै आफ्नो सक्रियता देखाउदै आएको प्रतिष्ठानले देशकै प्रतिष्ठित व्यक्तित्वहरुको आगमन गराउदै हतुवागढीको प्रवर्द्धनमा टेवा पुर्‍याईरहेको उल्लेख गर्नुभयो। उहाँको थप कथन थियो, “आजको यो यति ठूलो सहयोगले कवि कलाकार साच्चै नै मानवीयताप्रती सजग हुने कुरा प्रष्ट भएको छ । यो सहयोग हामी अथवा गाउँपालिकाले गर्नेभन्दा ठूलो रकम हो । यी सहयोगी मनहरुलाई धन्यवाद दिन चाहन्छु साथै सहयोग रकमको विवरण गाउँपालिकामा उपलब्ध गराइदिन अनुरोध गर्दछु ।”

यस्तै पात्लेपानी कला साहित्य प्रतिष्ठानका संस्थापक एवम गजलकार बिस्वजित राईले अन्य सहयोग पनि आउने क्रम जारी नै रहेको बताउदै कवि कलाकार पनी समयानुकुल चल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो आह्वानलाई स्विकार्दै सहयोग गरिदिनुहुने सिर्जनशील मनहरु प्रती आभारी छौँ ।” यता पीडित परिवारहरु पनि सो सहयोगको मुक्तकण्ठले प्रशंशा गरे । वडा सदस्य समेत रहेका पीडित परिवारका एक सदस्य सुदन राईले भावुक हुँदै पात्लेपानी कला-साहित्य प्रतिष्ठान र सहयोगी मनहरुप्रती कृतज्ञ रहेको बताए ।

%d bloggers like this: