Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

नेकपाको ह्वीप : प्रदेश एकको नाम “कोशी”, राजधानी “बिराटनगर”

Admin

राजनिती

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व प्रदेश नम्बर एकको नाम ‘कोशी’ र राजधानी ‘विराटनगर’ राख्ने तयारीमा जुटेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मौखिक निर्देशनपछि नेकपाको प्रदेश नम्बर एकको नेतृत्व र संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई प्रदेशको नाम कोशी र राजधानी विराटगरको पक्षमा प्रदेश साँसदहरुलाई मनाउनका लागि अन्तिम छलफलमा जुटेका छन् ।

प्रदेशको नाम कोशी, सगरमाथा, किरात, किरात–सगरमाथा, किरात-कोशी, लिम्बुवान, खम्बुवान लगायत हुनुपर्ने जनमत छ । किरात कुनै जाति नभएर सभ्यता भएको भन्दै सत्तारुढ नेकपाका अधिकांस सांसदहरु पनि किरातको पक्षमा उभिएका छन् ।

किरातसँग कोशी अथवा सगरमाथा जोडेर बहुपहिचानमा आधारित नाम राख्ने अभियानमा नेकपा निकट बहुमत सांसदहरु लागेका छन् भने किरातमा कुनै नाम जोडेर बनाइए पहिचानको मुद्दा उठाएर जन्मिएको पार्टीहरुको मुद्दा सकिने भन्दै किरात नाममा मात्रै उनीहरुले जोड दिएका छन् ।

तर, प्रधानमन्त्री ओलीले प्रदेश नम्बर एकको प्रदेश राजधानीको नाम कोशी राख्न मौखिक निर्देशन दिएका छन् । सगरमाथा देशकै पहिचानसँग जोडिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कोशी उपयुक्त हुने मनसाय प्रकट गरेको स्रोतको दाबी छ।

माथिको निर्देशनपछि मुख्यमन्त्री शेरधन राई, नेकपा प्रदेश इञ्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिव सुरेश राईले सांसदहरुलाई राजधानी विराटनगर र नाम कोशीको पक्षमा नेकपा रहेको आन्तरिक सर्कुलर गरेका छन् ।

उनीहरुले माथिको निर्देशन अनुसार आफ्ना संसदहरुलाई मनाउने प्रयास गरीरहेका छन् । स्रोतका अनुसार उनीहरुले किरातको पक्षमा उभिएका सांसदलाई ‘वान टु वान’ कुरा गरेर माथिको निर्देशनका बारेमा जानकारी दिइरहेका छन् । एक सांसदले भने,‘सबैलाई वान टु वान कुरा गरेर कोशी र विराटनगरको पक्षमा सहमति जुटाउने प्रयासमा उहाँहरु हुनुहुन्छ ।’

प्रदेश १ का ९३ सांसदमध्ये नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक/एक सांसद छन् ।

सहमति नभए प्रदेश नम्बर एक नै राखिने
प्रदेश नामाकरणको बिषयमा नेकपाभित्र सर्बसम्मत नभए तत्कालका लागि प्रदेश नम्बर एक नै राख्नका लागि पनि लबिङ भइरहेको बताइन्छ ।

राजधानीका लागि अस्थायी केन्द्र विराटनगरसँगै सुनसरीको इटहरी, सुनसरीकै धरान, मोरङ्गकै गोठगाउँ र धनकुटाको चर्चा छ ।

स्रोतका अनुसार मुख्यमन्त्री शेरधन राई कुनै एउटा शहरलाई मात्रै राजधानी नबनाई धरान, इटहरी र विराटनगरमा मन्त्रालयहरु विकेन्द्रित गर्ने योजनामा छन् भने कार्यालय तथा मन्त्रालयहरु समेत विकेन्द्रित गरि मुख्य केन्द्र विराटनगर मै राख्ने सोँचमा रहेको बताईएको छ।