Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

ईश्वरमान राईको नामसंग जोडिएको पुस्तकालय

hatuwaherald

Banner

अरुण आकाश
हतुवागढी भोजपुर

“प्रकृतिले आफ्नो घुम्टो आफै उठाउँछ। घाम उदाउँछ अनि मुस्कुराउँछ। समाजको लागि नि:स्वार्थ योगदान देउ तिमि, समाज तिम्रो सम्म्मानमा स्वत: जुर्मुराउँछ।” बिक्रम संम्वत ०७७ साल हामिसंग बिदा भएर जान लागिरहेको थियो। हामी सामु ०७८ आउनै लागिरहेको थियो। उसले “मलाई स्वागत गरे गर नगरे पनि आउन ठिक्क परेको छु” भनेर खबर दिईरहे झैँ लाग्ने सिमान्त समय थियो। प्रायलाई नेपालिको नयाँ बर्ष ०७८ लाई स्वागत गर्ने चटारो बढिरहेथ्यो। विभिन्न उमेर समुहका मान्छेहरु नयाँ बर्षलाई कसरी स्वागत गर्ने भनेर आ आफ्नो समूहमा योजना बनाई रहेका थिए। हतुवागढिको एउटा ठूलो समूह भने अलि अगाडीदेखि नै यो पटकको नयाँ बर्षलाई अलि फरक तरिकाले स्वागत गर्ने ध्याउन्नमा थियो, जसको लागि त्यो समूह केही महिना अगाडीदेखि अहोरात्र खटिरहेको थियो र यस कार्यमा देश भित्र र बाहिरका थुप्रै ब्यक्ति ब्यक्तित्वहरु मनै देखि जोडिनु भएको थियो। आक्रामक रुपमा यो कार्य केही महिना अगाडीदेखि अघि बढाईए पनि खास यसको पृष्ठभुमि जोडिएको थियो एक दशक अगाडीदेखिको एउटा बिशिष्ट घटनासंग ।



बि.स. ०६७ सालमा हतुवा क्षेत्रका “लि क्वान यु” भनेर चिनिने ईश्वरमान राई आफ्नो समर्पण भाव सहितको सेवाको कारण कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नेपाल साप्ताहिक र मोरङ्ग अटो वर्क्सले संयुक्त रुपमा प्रदान गर्ने “अल्वारत्न सम्म्मान”बाट सुनसरीको धरानमा नगद रु ५० हजार सहित सम्म्मानित हुनुभएको थियो। देशै भरिबाट निस्वार्थ रुपमा समाजको लागि योगदान दिने ब्यक्तिहरु मध्येबाट छनौट गरि गरिने उक्त सम्मानको मनोनयन ईश्वरमान राईकै एक छात्र दिलिप बान्तवाले गर्नु भएको थियो र त्यही सम्म्मान कार्यक्रममा ईश्वरमान राईले आफुले प्राप्त गरेको रकम हतुवागढिको सार्वजनिक कामको लागि लगाउने वचन समेत दिनु भएको थियो। आफ्नै महिनौंको तलब पनि आफु कार्यरत बिद्यालयको निम्ति प्रयोग गर्ने ईश्वरमान राईले अन्य तरिकाबाट प्राप्त गरेको रकम सार्वजनिक काममै लगाउने मनसाय राखेको कुरा चाहिँ उहाँको अर्का विद्यार्थी ईन्द्र थापा (जो अहिले हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष हुनुहुन्छ) ले सम्झी नै रहनु भएको रहेछ । फेरि यता ईश्वरमान राईका विद्यार्थी तथा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाको तर्फबाट ०७६ सालको भदौ महिनामा आयोजित एउटा शैक्षिक अन्तरकृया कार्यक्रममा उक्त कार्यक्रमका सहभागीहरु बिच सार्वजनिक पुस्तकालयको आवश्यकता छ भन्ने कुरामा जोड दिँदै त्यसका लागि आवस्यक पुर्बाधार निर्माण गर्ने बाचा गर्नुभएको थियो। सोही अनुरुप गाउँपालिकाले केही रकम बिनियोजन पनि गर्‍यो।



यसरी ०६७ साल देखि फाट्टफुट्ट रुपमा उठिरहेको तर उपयुक्त निकास नपाएको यो कार्यलाई संयोजन गरि ४ दशक भन्दा बढी आफ्नै समुदायको शैक्षिक र सामाजिक क्षेत्रमा आफ्नो अमुल्य योगदान मिसाउने आफ्ना गुरुको नाममा केही विद्यार्थी हरुले पहलकदमी लिने क्रममा यो पंतिकार पनि ईश्वरमान राईको विद्यार्थीको नाताले यो पुनित अभियानमा अलि बिचको समयदेखि सम्लग्न रहेको छ । एक दशक बढिको योजनालाई मुर्त रुप दिन त्यति सहज थिएन र यस अभियानलाई अझ अगाडीसम्म लान अझै कठिन यात्राहरु तय गर्नु नै छ तथापि सबैले हातमा हात मिसाए पछि काधमा काध मिलाए पछि अभियानले आफ्नो लय नसमात्ने कुरै हुदैन । तदर्थ समिती गठन, संस्था दर्ता, गाउँपालिकासंग सम्झौता, पुस्तक खरिद आदि बारे गरिएको जिम्मेवारी बाँडफाड र तिब्र गतिमा गरिएको तयारी पछि ०७८ को शुरुको दिन अर्थात ०७८ बैशाख १ गते हतुवागढी १ घोडेटार बजारमा “हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठान ” स्थापना हुन सफल भयो। एउटा औपचारिक समारोह मार्फत उद्घाटन गरिएको सो कार्यक्रमका प्रमुख अतिथि तथा हतुवागढी गापा अध्यक्ष प्रेमकुमार राईले प्रतिष्ठानको ब्यानरको पर्दा हटाई बाचन गरेर औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथी पुर्व माननीय धनहर्क राई, समाजसेवी नारायण निरौला, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाले शुभकामना मन्तब्य राख्नु भएको थियो । हतुवागढी १ घोडेटार बजारका स्थापित ब्यबसायीहरु हरिबहादुर श्रेष्ठ,धनबहादुर श्रेष्ठ,भिमबहादुर प्रधान लगायतले ब्यक्तिगत रुपमा, हतुवागढी ५ का प्रकाश राईले संस्थागत रुपमा, हाल हङकङमा रहनु भएका तिलक वालाहाङ्गले सहयोग स्वरुप रकम उपलब्ध गराउनु भएको थियो भने संस्थाका तदर्थ समितिका अध्यक्ष ईन्द्र थापा तथा सपरिवारले आफ्ना स्वर्गीय माता तथा पिताको स्मृतिमा रु ५ लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको थियो।

पुस्तकालय स्थापना गर्नु एउटा चुनौती थियो। तर अब हामिसंग थुप्रै चुनौतिहरू एकपछी अर्को गर्दै आउनेछन्। तर ती सबैसंग सामना गर्दै पठन तथा सकारात्मक चिन्तनको एउटा सुन्दर बगैँचा निर्माण गर्ने यात्रामा हामी निरन्तर लागिरहनेछौँ। अहिले हामिले अस्थायी भाडाको घरमा पुस्तकालय संचालन गरिरहेका छौँ। हाम्रो योजना चाँडै नै आफ्नै जमिन र भवन निर्माण गरि संचालन गर्ने रहेको छ। त्यसका लागि स्थानिय सरकार तथा प्रदेश सरकारसंग योजना माग गर्नेछौँ। आधुनिक प्रबिधी सहितको पुस्तकालय निर्माण हाम्रो योजना हो त्यो संगै यसको दिगो संचालन तथा फलदायी ब्यबस्थापनका लागि समेत अन्य कार्यक्रमहरू संचालन गर्नेछौँ। पठन, साहित्य सृजना एवं कला संस्कृती लगायतका विभिन्न जिवन्त गतिबिधिहरू समेत समेट्ने योजना रहेको छ।

उल्लेखित तमाम कामहरू श्रद्धेय गुरु ईश्वरमान राईले कैयौँ बर्ष अघिदेखी गर्न चाहनुभएको थियो। सामाजिक हित र सर्वाङ्गिन बिकासका लागि त्यो समाजका मान्छेहरू शिक्षित, सचेत र जागरुक हुनुपर्छ भन्ने उहाँको मान्यता अनुसार उल्लेखित गतिबिधिहरू संचालन गर्नेछौँ। यी सबैका लागि विशेष गरि सगरमाथा उच्च मा. वि. बाट आफ्नो अध्ययनलाई अगाडि बढाएका तथा ईश्वरमान राईको तत्कालिन विद्यार्थीहरू एवं हतुवाप्रती शुभेच्छा प्रकट गर्ने सम्पुर्णप्रती आ-आफ्नो क्षेत्रबाट योगदानको अपेक्षा समेत गर्दछौँ।