Hatuwaherald.com
Office: हतुवागढि – १, घोडेटार भोजपुर
Phone: ९८५२०३३५८४ (रबिन)
Email: hatuwaherald@gmail.com

भोजपुरेहरुको तथ्याङ्क संकलन गर्दै भोजपुर परिवार दक्षिण कोरिया

Admin

प्रबास

दक्षिण कोरिया, २६ बैशाख। भोजपुर परिवार दक्षिण कोरियाले कोरियामा कार्यरत प्रबासी भोजपुरेहरुको तथ्याङ्क संकलन गर्ने भएकोछ।

हिजो मे ८ का दिन परिवारका अध्यक्ष सुमन्त मगरको अध्यक्षतामा बसेको नव निर्वाचित कार्यसमितिको पहिलो Virtual बैठकबाट सो निर्णय गरिएको महासचिब अजय खत्रीले जानकारी गराउनुभएको छ। “अघिल्लो कार्यसमितिले तथ्याङ्क संकलन गर्ने काम शुरु गर्दैथियो। त्यसै बिचमा कोरोना महामारी फैलियो र योजना अलपत्र भयो।” अध्यक्ष मगरले थप्नुभयो, ” नयाँ कार्यसमिति बनेको बखत नै तथ्याङ्कको सो कामलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेको थिएँ। सबैले मिलेर यसलाई मुर्तरुप दिनेछौँ।”

सन् २००५ मा स्थापना भई हालसम्म निरन्तर विभिन्न सामाजिक काममा कृयाशिल भोजपुर परिवार दक्षिण कोरियाले भोजपुरबाट विभिन्न कार्यका लागि दक्षिण कोरिया आईपुगेका भोजपुरबासिहरुलाई एक आपसमा जोड्न तथा आपत बिपतमा एक अर्काका बिच सहयोग आदान प्रदान गर्न उक्त तथ्याङ्कले अझ सहयोग पुग्ने अपेक्षा गरिएको छ। महासचिव खत्रीका अनुसार संकलित तथ्याङ्कलाई पुस्तकाकारका रुपमा प्रकाशन गर्ने योजना समेत रहेको छ। उहाँको कथन छ, “भोजपुर जिल्लाको समग्र परिचय झल्काउने तथा भोजपुरलाई चिनाउने प्रमुख सुचकहरुको बिवरण तथा वर्णन सहितको सामग्री राखेर संकलित तथ्याङ्कलाई प्रकाशन गर्ने योजना रहेको छ।”

“कोरियामा भोजपुरे एकता, समुन्नत समाज हाम्रो प्रतिबद्धता” को नारा सहित गत मे २ का दिन सम्पन्न परिवारको नवौँ अधिबेशनबाट सुमन्त मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती गठन भएको थियो। समितिमा बरिष्ठ उपाध्यक्ष राजन थापा, उपाध्यक्ष ध्रुब राई, महासचिब अजय खत्री तथा सचिबहरु बिवस घायल राई र दिलिप बान्तावा रहनुभएको छ भने कोषाध्यक्ष डिबि राई र सहकोषाध्यक्ष भुपाल थापा हुनुहुन्छ। त्यस्तै सदस्यहरुमा सन्तोष कुमार राई, सन्तोष थुलुङ्, सुनिल बान्तावा, जस्मिन राई, भुमिका राई, दिपेन्द्र राई र नवीन परियार रहनुभएको छ।